आज:  | Fri, 19, Apr, 2024

सांसद सरिता गिरीको घरमा युवाहरुले नारा जुलुस सहित कालोझण्डा राखे

२०७७, २८ जेष्ठ बुधबार २३:१५ मा प्रकाशित ( ३ साल अघि) १९१५९ पाठक संख्या

काठमाडौ, जेष्ठ २८ गते

समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले नारा जुलुस सहित कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ । उनको घरमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ । काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । 

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । 

उता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ । गिरीको पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

खबर एक्सप्रेस