आज:  | Thu, 22, Feb, 2024

संघर्षले भरिएको सुशान्त राजपुतको बलिउड यात्रा

२०७७, १ असार सोमबार १८:२८ मा प्रकाशित ( ३ साल अघि) १७४५४ पाठक संख्या

अभिनेता सुशान्त राजपुतको जन्म सन् १९८६ जनवरी २१ मा बिहारको पटनामा भएको थियो ।

अभिनयमा रुची भएका उनले इन्जिनियरिङमा पढाई पूरा गरे लगतै आफ्नो अभिनयको सपना पूरा गर्न अभिनयतर्फ लागेका थिए ।

सुशान्तको जन्म एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनले लामो संघर्ष पश्चात बलिउडमा प्रवेश पाएका थिए । बिहारस्थित पूर्णियामा उनको बुबा खेती–किसानी गर्छन् ।

सुशान्तले ब्याकअप डान्सरको रुपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि ‘किस देश मे है मेरा दिल’ नामक टेलिभिजन श्रृङ्खलामा उनलाई अभिनय गर्ने पहिलो मौका मिल्यो ।

त्यसपछि उनी अर्को टेलिभिजन श्रृङ्खला ‘पवित्र रिशता’मा देखिए । उक्त चर्चित श्रृङ्खलाले सुशान्तलाई थप उचाइ दियो ।

नृत्यमा पोख्त र रुची भएका उनले टेलिभिजन श्रृङ्खलामा अभिनयसँगै डान्स रियालिटी शो ‘जरा नच के दिखा’ र ‘झलक दिखला जा’ मा पनि सहभागी भए ।

अभिनय र नृत्यबाट दर्शकको मनमा बसेका उनमा चलचित्रकर्मीहरुको पनि नजर पर्यो । फलस्वरुप उनले सफलताको अर्को उचाई स्वरुप चलचित्र क्षेत्रमा प्रवेश गर्ने मौका पाए ।

सुशान्तले ‘काय पो छे’ बाट चलचित्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रमा उनको महत्वपूर्ण भूमिका थियो । उनको मुख्य भूमिका रहेको चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट उनले फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए ।

पहिलो चलचित्रमा गरेको अभिनयको तारिफसँगै उनले पछि फर्केर हेर्नु परेन् । यसपश्चात उनले एकपछि अर्कोगर्दै हिट चलचित्रहरु दिन थाले, ‘शुद्ध देसी रोमान्स’, पीके, एमएस धोनी, केदारनाथ उनका हिट चलचित्रमध्येका हुन् ।

असफल प्रेम जीवन
अभिनयका साथै सुशान्त उनको प्रेम जीवनका कारण पनि चर्चामा तानिए । टेलिभिजन श्रृङ्खला पवित्र रिश्तामा अभिनयको क्रममा अभिनयसँगै प्रेम जीवनले पनि चर्चामा ल्यायो ।

सुशान्तको सोही नाटककी को–स्टार अंकिता लोखन्डेसँग प्रेम सम्बन्ध रह्यो । तर सुशान्त चलचित्रमा प्रवेश गरेसँगै उनीहरुबीच सकारात्मक तथा नकारात्मक दुबै समाचारले मिडियामा स्थान पाए र अन्तत उनीहरुबीच ब्रेक भयो ।

केहीदिन अघि मात्रै सुशान्तकी पूर्व म्यानेजर दिशा सालियनको पनि निधन भएको थियो ।

उनलाई श्रद्धाञ्जली दिँदै सुशान्तले इन्स्टाग्राममा यो निकै दुखद् खबर भएको भन्दै उनको परिवार र साथीहरुप्रति गहिरो सम्वेदना प्रकट गरेका थिए ।

सुरुमा आत्महत्याको अनुमान गरिएको अनुमान गरिए पनि पछि दिशा नसामा भएका कारण उक्त भवनबाट खसेर निधन भएको भारतीय मिडियाले पुष्टि गरेका थिए ।

खबर एक्सप्रेस