आज:  | Mon, 26, Feb, 2024

कर्णाली करिडोरमा धमाधम काम हुँदै

२०७७, ५ असार शुक्रबार ०६:५३ मा प्रकाशित ( ३ साल अघि) १६४३१ पाठक संख्या

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ। बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले गति लिएको छ।

स्थानीय कामदार र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रूपमा गरिरहेका छन्। खुलालु, लैफु, कवाडी हुँदै सलिसल्ला सडक निर्माण आयोजनाका योजना प्रमुख मिलन कार्कीका अनुसार करिडोरमा कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने, विस्फोटन गर्ने र ग्याबिन भर्ने काम भइरहेको छ।

हाल नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुँदै आएका कामदारलाई नै सामाजिक दूरी कायम गरेर सुरक्षासहितको विधि अपनाएर काम भइरहेको छ। प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ। सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने काम भइरहेकाले असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको रहेको छ।

हुम्ला खण्डको कवाडी खोलादेखि सलिसल्लासम्मको ६१ किलोमिटर दूरी रहेको छ। जसको अधिकांश भागमा सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको छ। अब सात किलोमिटर असजिलो र चट्टानी भागमा काम तीव्र भइरहेको सेनाले जनाएको छ। नेपाली सेनाको लक्ष्य आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलोमिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने रहेको छ। आगामी मङ्सिर महिनासम्म उक्त खण्डको विस्तारको काम सकेर सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

खबर एक्सप्रेस