आज:  | Mon, 15, Apr, 2024

नेपालमा टेलिफोन स्थापना भएको दिन

२०७७, २१ असार आईतवार ०९:४८ मा प्रकाशित ( ३ साल अघि) १२४३२ पाठक संख्या

 

नेपालमा टेलिफोन स्थापना भएको दिन असार २० गते हो । श्री चन्द्र टेलिफोन’ नामबाट वि .सं. १९७३ असार २० गते नेपालमा टेलिफोन सेवा स्थापना भएको थियो । श्री ३ चन्द्रशमशेरबाट टेलिफोन स्थापनाका लागि वि .सं . १९७२ मा बेलायती इन्जिनियार बनार्ड पन्टेलाई विशेषज्ञको रुपमा काममा लगाई टुँडिखेल नजिक पश्चिमपट्टि टेलिफोन अफिस खडा गरि काठमाडौको टुँडिखेलदेखि वीरगञ्जसम्म ७२ माइल (११५ कि मि ) काठको खम्बामा तामाको नाङ्गो तार तानी मेग्नेटो प्रविधिको ट्रंक टेलिफोन सेवा सुरु गरिएको थियो । नाङ्गो तारमा सञ्चालन हुने उक्त पुरानो प्रविधिलाई ‘ओपन वायर म्याग्नेटो’ भन्ने गरिन्थ्यो। काठमाडौबाट वीरगञ्जसम्म तार टाँग्नका लागि थानकोट, चिसापानीगढी, भीमफेदी भैँसे, हेटौँडा, अमलेखगञ्जको बाटो रोजिएको थियो।यस प्रविधिमा खम्बाखम्बामा नाङ्गो तार तानी ठाउँठाउँमा टेलिफोन जडान गरिएको थियो र घण्टीको सङ्ख्याका आधारमा टेलिफोन रिसिभर उठाउनु पर्दथ्यो। छिमेकी मुलुक भारतसम्म पनि टेलिफोन मार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको कारण नेपालमा टेलिफोन सेवा स्थापना हुँदा सुरुमै अन्तर्राष्ट्रिय सम्पर्क पनि गर्न सक्ने व्यवस्था गरिएको थियो ।  वि .सं . १९७२ मा सुरु भएर १९७३ असार २० बाट सञ्चालन आएको टेलिफोन सेवा श्री ५ र श्री ३ मा मात्र सिमित भएकोमा  वि .सं . १९७४ जेठ १ गतेदेखि भने सर्वसाधारणले पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसबेला टेलिफोनको महसुल तिरेपछि ‘श्री चन्द्र टेलिफोन’कै नाममा रसिद समेत जारी हुने गरेको थियो।आजको युगमा यसको बिस्तार मानिसको हात हातमा पुगेको छ ।

खबर एक्सप्रेस