आज:  | Sat, 15, Aug, 2020

दुई घण्टा पनि होल्ड हुन हम्मेहम्मे पोखरा रंगशालाको होल्डिङ सेन्टर

२०७७, ५ श्रावण सोमबार ०९:०८ मा प्रकाशित ( ३ हफ्ता अघि) ७३७९ पाठक संख्या

पोखरा ५ साउन

गण्डकी प्रदेश सरकारले पनि ११ जिल्लालाई लक्षित गर्दै पोखरा रंगशालालाई होल्डिङ सेन्टर बनाएको छ । कोरोना भाइरस ९कोभिड–१९०कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गए पछि विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि प्रदेश सरकारले होल्डिङ सेन्टर स्थापित गरेको हो । विदेशबाट आएकाहरु केहीबर आरामपछि सम्बन्धित जिल्ला जान्छन् ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउन आवश्यक खर्च प्रदेश सरकारले नै व्यहोरेको छ । तर, होल्डिङ सेन्टरको अवस्था विजोग र फोहोर छ । शौचालयको अवस्था दयनीय छ । दुर्गन्धका कारण शौचालय जान सक्ने अवस्थामा छैन ।

 

दुबईबाट आएका स्याङ्जा आधिखोलाका उमेश पौडेलले पोखराको होल्डिङ सेन्टरमा करिब ४ घण्टा बिताए । उनलाई त्यो ४ घण्टा ४ दिनजस्तो लाग्यो । रोजगारको शिलशिलामा दुबई पुगेका उनी काठमाडौँको होल्डिङ सेन्टरमासमेत बसेका थिए । काठमाडौँ र पोखरामा फरक पाए उनले बताए । काठमाण्डौँ केहि व्यवस्थित भए पनि पोखराको भने निकै अव्यवस्थित रहेको पौडेललको भनाई छ । ‘हामीलाई काठमाडौँको होल्डिङ सेन्टरमा राखेर जाने गन्तव्य तथा सबै विवरण लिएर पानी र खाना समेतको व्यवस्था भएको थियो । त्यहाँबाट पठाएपछि हामी रातिको करिब २ बजे पोखरामा रहेको होल्डिङ सेन्टरमा आयौं । यहाँ केही समय भएपनि आराम हुन्छ भनेको त्यहाँको अवस्था देख्दा बस्न मन लागेन’, पौडेलले भने,‘ न बस्न लायक ठाउँ छ न त शौचालय सफा छ । त्यहाँ राख्नुभन्दा खुल्ला चौरमा राखेको भए जाति हुने थियो ।’ आफूले फोहोर र अव्यवस्थित भएको भन्दै सुरक्षामा खटिएका कर्मचारीलाई जानकारी गराएपनि सरकारको काम भएको भन्दै गैरजिम्मेवारीपुर्ण जवाफ दिएको बताए । त्यस्तै दुबईबाटै आएका स्याङ्जाकै दिपेन्द्र बस्यालले पनि होल्डिङ सेन्टरमा बिताएको क्षणहरु दुःखद भएको जिकिर गरे ।

विदेशबाट आएका सर्वसाधारणलाई केही समय आराम गर्न म्याट एवं सिरानीलगायत सामानको व्यवस्था गरिने गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक योजना तथा निर्माणमन्त्री रामशरण बस्नेतले बताएका थिए । उनका अनुसार रंगशाला अन्य ठाउँभन्दा उपयुक्त र सुरक्षित छ । होल्डिङ सेन्टर बनाउन प्रदेश मन्त्री बस्नेतसहित सुरक्षा निकाय, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्मा,नेपाली सेना पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका निवर्तमान बोर्ड सदस्य राजेश गुरुङ, तथा खेलकुदकर्मीले अनुगमन तथा निरीक्षण गरि होल्डिङ सेन्टरको स्थापना गरिएको थियो । फर्किएका नेपालीको स्वास्थ्य परीक्षण विमानस्थलमै हुन्छ । त्यसपछि पोखरा रंगशालास्थित होल्डिङ सेन्टरमा राख्नुअघि पनि सर्वसाधारणको सामान्य ज्वरो नापिने मन्त्री एवं प्रवक्ता बस्नेतको भनाई थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विदेशबाट आएका नेपालीलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म ल्याउँछ । प्रदेश सरकारले बागलुङ, म्याग्दी र मुस्ताङ जाने सर्वसाधारणको लागि बाग्लुङसम्मको बसको व्यवस्था गर्छ । स्याङजाको हकमा भने स्याङजाकै स्थानीय तहले गाडीको व्यवस्था गरेको छ । उक्त सेन्टरमा एकै दिन बढीमा ८० जनासम्म होल्डिङ गर्न सकिन्छ ।

खबर एक्सप्रेस