आज:  | Wed, 27, Mar, 2024

(दृश्य १०) मा जनता र सत्तारुढ दलका नेताहरुको दैनिकी हेर्दा…..

२०७७, ५ श्रावण सोमबार ०९:३६ मा प्रकाशित ( ३ साल अघि) २१०८१ पाठक संख्या

आमनागरिक किन बिरक्त भएका छन् त ? केही दृश्य हेरौ ।

देश र जनताले हरेक एकएक सेकेन्ड समयको हिसाब राखेका छन् । छैनन् भने पनि अब राख्नुपर्छ । एकजनाको एक सेकेन्ड भनेको ३ करोड नेपालीको ३ करोड सेकेन्ड हो । देशको जीवनमा ३ करोड सेकेन्ड भनेको कति महत्वपूर्ण होला, आफै हिसाब गरौ । 

आज सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम दृश्यमा छन् । भोलि अरु पनि आउनेछन् । हिजो केही यिनै र केही अरु थिए । तर प्रवृत्ति उही नै छ । परिदृश्य पनि उही नै छ । जनता दिनानुदिन वाक्कदिक्क भइसके । हरेक पुस्ताले देशमा भविष्य देख्न छाडिसकेको छ । सत्तारुढ दल नेकपाका नेताहरुको दैनिकी हेर्दा मुलुकका आमनागरिक नेताहरुको दैनिकीबाट बिरक्त भएका छन् ।

आमनागरिक किन बिरक्त भएका छन् त ? केही दृश्य हेरौ ! 

दृश्य १ : युवाहरु दिनहु सडकमा प्रदर्शन र नाराबाजीमा उत्रिरहेका छन् । कोरोनाको पीसीआर परीक्षण बढाऊ । जनताको ज्यान जोगाऊ । गरीबलाई छहारी देऊ भन्दै !

दृश्य २ : नेताहरुको दिनहु हुने बैठकले जनता वाक्क छन ! बैठक सुरु हुन्छ । पाखुरा सुर्कासुर्की हुन्छ । राजीनामा दे । दिन्नँ । दिनैपर्छ । दिदैदिन्न के गर्छौ ? भारतले भनेर हुन्छ ? भारतले होइन, मैले भनेको । तैँले भनेको के प्रमाण छ ? ल त्यसो भए बैठक स्थगित ।

दृश्य ३ : दुई नेता गोप्य वार्ता गर्छन् । फेरि बैठक बोलाउँछन् । बैठक स्थगित गर्छन् । फेरि वार्ता गर्छन् । यताउता कुदेजस्तो गर्छन् । फेरि बैठक बोलाउँछन् । स्थगित गर्छन् । आज स्थायी समिति । भोलि सचिवालय । निर्णय शून्य । नतिजा शून्य छ ।

दृश्य ४ : दुई नेता गोप्य वार्ता गर्दै राष्ट्रपती कहाँ जान्छन् ! उनलाई साक्षि राखी महाधिबेसन गर्ने गरी हा..हु….गरी फर्कन्छन् । उफ्रेर आ-आफ्नो ठाउँमा आएर अन्यनेताको खप्की खाएपछी ! ए होत है, त्यो कुरा भएकै छैन हुनै सक्दैन, त्यो कुरा मानिदैन ।

दृश्य ५ : नाटक सकिएको छैन । एकपटक मञ्चतिर हेर्न छाडौँ ! दर्शकदीर्घातिर फर्किऊँ । कोही रोइरहेका छन् । कोही छटपटाइरहेका छन् । कोही रगताम्य छन् । कोही हातखुट्टा गुमाइरहेका छन् । लालाबालाको चिच्याहट । घर न घाट भएका छन् । गाउँ बगर भएका छन् । महामारी । बाढी, पहिरो । सलहको प्रकोप । खेतमा मल अभाव । सहरमा सन्नाटा । गाउँमा हाहाकार ।उता मञ्चमा नौटंकी चलिरहेकै छ ।

दृश्य ६ : नेताहरु युट्युबरलाई अन्तर्वार्ता दिदै सुकुटी, भुटन, तारेको, झानेको जस्तो मन लाग्यो त्यस्तै आफै बनाएर खाइरहेका छौँ । परिवारका सबै बसेर आगो मै पकाएको, सेकाएको खूब मीठो हुने रहेछ, भनीरहेका छन् जनताले एक गास खान पाएका छैनन ! 

दृश्य ७  : बाढी र पहिरोले गाउँ नै बगाएका छन् । परिवार सखाप भएका छन् । विस्थापितहरु चाउचाउ र बोराको पर्खाइमा आकाश हेर्दै हेलिकप्टर कुरिरहेका छन् । ऋणसापट गरी सानोठूलो उद्योग गर्न तम्सिएकाहरु अत्यासिएका छन् ।

दृश्य ८  : आत्महत्याको डरलाग्दो चित्र बाहिर आएको छ । लाखौँ बालबालिकाको भविष्य अनिश्चय र अन्धकारतर्फ धकेलिँदै छ । तिनलाई बाटो देखाउने शिक्षकको चुलो बल्न छाडेको छ । गरिखानेहरु छटपटी र बेचैनीमा गलेका छन् । तर, मुलुक हाँकेर बसेका नेताहरु यी कुनै विषय नै होइनन् जस्तो गरी दिनदिनै निष्कर्षहीन बैठक र वार्तामा समय गुजारिरहेका छन् । सिसिफसको कथामा जस्तो कुनै नतिजा नआउने घनचक्करमा यिनका दैनिकी बितिरहेका छन् र नेपाली जनता थप अन्योल र अत्यासमा पारिरहेका छन् ।

दृश्य ९ : दुई तिहाई नजिकको दलमा एउटै चालकले नभ्याउने भनेर दुई–दुईवटा पाइलटको व्यवस्था गरिएको छ । ती दुई पाइलट गन्तव्यमा पुर्याउनु त परै जाओस्, बिमान टेकअफ गर्दागर्दै ककपिटमा एकअर्काले आगो कोर्न थालेका छन् । सचिवालय र स्थायी समितिका क्याबिन क्रूहरु दुई पाइलटको पक्ष र विपक्षमा बाँडिएका छन् । एकलाई अर्का विरुद्ध उचाल्ने र पछार्ने प्रतिस्पर्धामा छन् । गन्तव्यमा पुग्ने हतारोमा भएका यात्रुहरु तिनै पाइलटको कलाविहीन नाटक हेर्न बाध्य छन् । ती पाइलटलाई यात्रुको कुनै पर्वाह छैन । यात्रुमा कति छटपटी छ ? भोकै, प्यासै छन् । बिरामीले औषधी पाएका छैनन् । कुन बेला जहाज खस्ने हो ? इन्धन सकिने हो कि ? इन्जिन बिग्रिने हो कि ? चरा वा पहाडका भित्तामा ठोक्किने हो कि ? दिशा परिवर्तन हुने हो कि ? चिन्ताले सबलाई थिलथिलो बनाएको छ ।

दृश्य १० : केन्द्रीय कमिटीका टावरबाट एटीसीले आकस्मिक अवतरण गर्न सूचना पठाए पनि पाइलटलाई सुन्ने फुर्सद छैन । भोलि फोर्स ल्यान्डिङ गर्नुपर्ने अवस्थामा सिमसार नभेटिन सक्छ । साउन–भदौ यत्तिकै सकिएपछि सिमसार नभेटिने सम्भावना अझ बढ्छ । दुर्घटना भइहालेमा पाइलट र क्याबिन क्रूहरु भाग्न र उम्किन सक्लान् । किनभने, पटकपटकका दुर्घटनाबाट आफू मात्र जोगिएर धेरै यात्रुलाई यिनले डुबाइसकेका छन् । खति बेहोर्ने फेरि पनि यात्रु नै हुनेछन् । किनकि, तिनको बिमा पनि छैन । यतिखेर यी पाइलट र क्याबिन क्रूहरु देशै डुबाउने खेलमा उद्यत देखिन्छन् । महाविपत्ति र यसका बहाआयामिक असरले देश र जनतालाई खर्लप्पै खाइसक्दा पनि नेताहरु कृत्रिम समस्या सिर्जना गरिरहेका छन् । वास्तविक समस्यालाई ओझेल पार्ने गरी मुलुकको खास समस्या नै यिनको कुर्सीको व्यवस्थान होजस्तो बनाइएको छ । पार्टी फुट्ने कि नफुट्ने, सत्ता छोड्ने कि नछोड्ने, छोडिहाले आफूले पालो पाउने कि नपाउने भन्ने मूल सर्त बनाइएको छ ।

माधव नेपाल र केपी ओलीको जन्मजात झगडा नेपाली जनतालाई थाहा भएको कम्तीमा २५ वर्ष भइसकेको छ । यतिखेर ती दुईजनाको पुरानै नाटक दोहोर्याउनुको के अर्थ छ ? वामदेव गौतम को हुन् भन्ने कुरा उनकै पार्टीका प्रदीप नेपालले टुँडीखेलबाटै उद्घोष गरिसकेका हुन् ।

यतिखेर यिनको पार्टी फुटोस् कि रहोस्, यीमध्ये कोही सत्तामा रहोस् कि नरहोस् जनतालाई के मतलब? बिरामीलाई सिटामोल चाहिएको छ । गासबास खोसिएकालाई साउने झरीमा ओत र गास चाहिएको छ । व्यवसाय चौपट भएकाहरुलाई ढाढस चाहिएको छ । विद्यार्थीको भविष्य अन्धकार हुन नदिन वैकल्पिक माध्यमबाट पढाइको बन्दोबस्त चाहिएको छ । शिक्षक र अरु तमाम काम गुमाएका युवालाई रोजीरोटी चाहिएको छ ।

खबर एक्सप्रेस