आज:  | Mon, 15, Apr, 2024

मान्छे जन्माउने रगत कसरी पाप ? पञ्चमीको पूजागरी क्षमा किन माग्ने ? – महेश्वरी बिष्ट रावल

२०७७, ८ भाद्र सोमबार ११:०० मा प्रकाशित ( ३ साल अघि) २३६५०० पाठक संख्या

महिनावारी र म
मलाई होस् खुले देखि थाहा छ, म भन्दा पछिका दुईवटा साना भाईहरु भएपनि म सधैं मेरी असाध्यै प्यारी आमाको काखमा लुटुपुटु गरिरहन्थे, प्रश्नहरू जिज्ञासाहरु राखिरहन्थे र न्यानो स्नेहसहित प्रश्नको जवाफ पाइरहन्थे जसले गर्दा कत्ति जिवन उपयोगी कुराहरु सिक्न पाउँथे । बेलाबेलामा मेरी आमाको काख मेरा लागि टाढा हुन पुग्थ्यो म छटपटाउथें कारण हुन्थ्यो आमाले भन्ने गरेको “छोरी मलाई नछो टाढा बस” भन्ने आमाको सामिप्यबाट टाढा पुरयाउने शव्द र दिनहरु मेरा लागि सारै दिक्कलाग्दा हुन्थे । हुर्कदै गएँ टोलका अन्य आमा, हजुरआमा, दिदीहरूले पनि बेलाबेलामा “मलाई नछुनु है टाढै बस्नु” भनेको सुन्दै गए, मलाई यस्ता शब्दसँग दिक्क लाग्न थाल्यो । सबै महिलाले भोगिरहेको यो भेदभाब मैले पनि ठुलो भएर पक्कै भोग्नु पर्नेछ भन्ने सोच्थे । सबैको बालपनमा झैं म पनि अरु ठुला जस्तै आफुपनि ठुलो हुने चाहना राख्थे तर ठुलोहुँदा हुने महिनावारी र त्यसपछी “हामीलाई नछो टाढा बस्” भन्दै गरेको तिरस्कार मलाई मेरो महिनावारी सुरु नै नहोस भन्ने लाग्थ्यो । प्रकृतिको नियम हो ९ कक्षामा पढ्दा मेरो पहिलो महिनावारी भयो । मेरी साथी जस्तै व्यवहार गर्ने आमाले परम्परा अनुसार १०दिनका लागि भुँइलल्लाको कोठामा बन्द गरेर अहिलेको कोभिड १९ महामारीको समयमा संक्रमितलाई आइसोलेसनमा राखे जस्तै गरी मलाईपनी राख्नुभो अनि बिभिन्न आदेशहरु दिनु भयो । आज देखि १०दिनसम्म यस कोठाको पर्दा नखोल्नु, ठुलो स्वरले नबोल्नु, शौचालय जानुपरे बाहिर बुवा, दाजुभाई र अरु पुरुष कोहीपनि नदेख्ने गरी मात्र निस्कनु, आफुले खाएको भाँडा आफै धुनु आदी आदी । त्यो दिन महिनावारी भएर मैले अपराधी भएझैँ महसुस गरे । त्यो बेलाको समाजले बनाएको नियम अनुसार यस विषयमा पुरुषहरु बोल्दैन्थे, परम्पराको मौन सर्मथन गर्थे। अरुबेला असाध्यै माया गर्ने, कुरा सुन्ने, एकछिन मलाई नदेखि नहुँने मेरा बाबा र दाजुहरूबाट समेत मौन सर्मथन भए । आजको समयका आमाहरु पक्कै केही परिवर्तन हुनुभएको होला र बुवा, दाजुभाइहरु पनि विभेदको विषयमा बोल्न थालेका होलान । कोठामा यसरी १०दिन बस्दा मेरो स्कूल छुट्यो, साथीसँगको खेलकुद र कुराकानी छुट्यो आफुलाई अर्कै दुनियाँमा पुगेको महसुस गरे । यही १० दिनको बीचमा एकदिन मेरो ठूलो भाई स्कूलबाट हात भाँचेर आएछ, भाँचिएको हात देखेपछी आमाको मन दुख्नु स्वाभाविक थियो, तर आमाले भाइको हात भाँचिनुको कारण मलाई देख्नुभयो मेरो निर्दोस मन त्यो बेला खुब रोएको थियो । कारण थियो दुइदिन अगाडी स्कुलबाट भाई आउँदा शौचालय जान निस्केको म र भाइले एक अर्कालाई देख्न पुगेका थियो । परम्पराले यसलाई अशुभ मानिन्थ्यो । सबै घटनाले १० दिनपछी बाहिर आउदा पहिलेको मेरो उच्च मनोवल घटेको र सबैसँग आँखा जुधाएर हेर्न अप्ठेरो समेत परेको महसुस गरेको अहिले पनि याद छ । 

महिनावारी र पञ्चमी पूजा
पहिलो महिनावारी पछीको पहिलो पञ्चमी वर्त र पूजाकालागि आमाले भने अनुसार टोलको आमा, दिदी बहिनीहरुसंग म पनि नुहाउन नजिकैको खोलामा गएँ । नुहाउन शूरुगर्दा छीमेकी आमाले ३६५ पटक सबैअंग पालैपालो नुहाउन भन्नुभो, सबै दिदी बहिनीहरुले भनेको माने तर मैले प्रश्न गरे, किन ३६५ पटक नै नुहाउने ती आमाले भन्नु भो हामीले नछुने हुँदा जानीनजानी केटामान्छे र बोटविरुवा आदी छोएर पाप गरेका हुन्छौ, त्यसैले पापबाट मुक्त हुन जरुरी हुन्छ तर मरेपछी नर्कमा परिन्छ । मलाई आमाको तर्क एकरत्ति पनि चित बुझेन, जसोतसो समय विताएर सबैसँग घर फर्के । टोलका सबै दीदिबहिनीहरु सहित पञ्चमीको पूजा घरमा नै हुँने भएकोले म पनि पूजामा सहभागि भएँ । पूजाहुँदै जाँदा पण्डीतबाट बेला–बेलामा यो पूजा रजस्वला भएको बेलामा जान अन्जानमा अरुलाई छोएर गरेको पापबाट मुक्त हुनका लागि भएकोले राम्ररी गर्न भन्नुहुथ्यो । मलाई त्यो सुनेर पूजा मै बस्न सकस हुन्थ्यो ।मैले पण्डितलाई प्रश्न गर्थे प्राकृतिक कुरा कसरी पाप हुन्छ ? पण्डीतबाट “ शास्त्रमा लेखेको छ नानी म के भनौं ” मात्र भनेर टार्थे । पूजामा सहभागि ती छिमेकी आमाले मेरे प्रश्न खस्नै नदिइ जिब्रो टोकेर “पण्डीतसँग सवालजवाफ गर्नहुन्न भनेको गर्नुपर्छ ” भन्नुभयो । मलाइ पूजाभरी महिनावारी हुँदा छुनु पाप नै होइन किन पाप भनियो भन्ने कुराले सताइरह्यो । बेमनले पूजा सकाएँ तर मनमा यो प्राकृतिक कुरा पाप कसरी ? भन्ने रही रह्यो । कक्षा ९ मा एउटा भएपनि स्वास्थ्य विषयमा प्रजनन् स्वास्थ्यको विषय थियो , सरले सिलिङ तिर हेरेरै भएपनि प्राकृतिक कुरा हो भनेर पढाएका थिएँ । आमासंग मैले सधै “महिनावारी हुँदा किन धेरै भेदभाव र डर ? आमा के त्यो बेला हाम्रो जिउमा करेन्ट आउँछर ? अरुलाई छुन नहुने” भनेर प्रश्न गर्र्थें ।

महिनावारी र मेरो कर्मक्षेत्र
२०४९ सालतिर जागिरको सुरुवात डडेल्धुराबाट गरे । त्यहाँ महिलाले महिनावारी हुँदा समेत उज्यालो नहुँदै उठेर दिनभर गाइबस्तुलाई घाँसपात, पानिको जोहो गर्ने गरेको पाए । जंगलमा घासपात, मेलापात गर्ने बाटो समेत अर्कै हुने गरेको पाए । महिनावारीको व्यवस्थापन गर्ने कुनै कपडा आदीको जोहो नहुँनाले तल्लो जिउको लुगा सबै भिजेका हुन्थ्यो । यो अवस्थामा मैले केही गर्नुपर्छ भनेर केही काम शुरु गरे पहिला त महिनावारीलाई व्यवस्थापन गर्न कसरी कपडा प्रयोग गर्ने भन्ने प्रर्दशन गरेरै देखाउँने भन्ने तिर लागे । अती कठोर समाजलाई त्यसपछी छाउलाई धर्मसंग जोडेर महिलाको मनमा हालेको डरलाई कम गर्न निकै प्रयास गर्दै गए । जती बुझेको थिएँ यो पाप हैन प्राकृतिक हो भनेर जुनसुकै भेटघाट, तालिम र कार्यक्रमहरुमा सुनाउन थालें । केही परिवर्तन हुँदै गर्दा २०५३ सालतिर जागिरको सरुवाको सिलसिलामा आफू हुर्केको मकवानपुर जिल्लामा पुगे । त्यहा कामगर्दा महिनावारीको विषयमा केही फरक कुरा पाएँ, तामाङ बसोवास भएको समाजमा महिनावारी बार्ने भन्ने चलन नै रहेनछ। ब्रामण, क्षेत्रि भएको समाजमा म हुर्केको समाज जस्तै त्यहाँ महिनाबारी व्यवस्थापन गर्न जानेको भएपनि पूरुषलाई छोए पाप हुने, बोटविरवा छोए मर्ने, भान्छामा जानै नहुँने आदी चलन भने उस्तै नै थिए । यसबारे आफुलाई अझ जान्ने प्रयास र केही उपलव्धी,केही परिवर्तन हुनैपर्छ भन्ने आफुभित्र रहेको थियो ।सानै देखिको जिज्ञासा र चाहनाले सुरुदेखि नै महिनावारी नै कसरी हुन्छ होला भनेर आफैले जान्न निकै कोसिश गरे । महिलाको स्वास्थ्यमा कामगर्ने संस्थाको खोजिगर्दा हेटौंडा अस्पतालमा एकजना स्त्रि रोग विशेषज्ञ, महिला डाक्टर र परिवार नियोजन सघका प्रमुखसंग भेटभयो। उहाँहरुसंग महिनावारी कसरी हुन्छ ? प्रेग्नेन्ट भएपछि किन महिनावारी हुँदैन भन्ने बारे छलफल गरे उहाँहरुबाट केही जानकारी पाएँको थिएँ ।“बच्चा जन्माउनका लागि महिलाको मासिक रुपमा ओभरीबाट डिम्ब निस्कन्छ, त्यो डिम्बको मिलन सुक्रकिटसंग भएको भुर्णलाई बच्चाको रुपमा विकास हुनको लागि आहार चाहिन्छ, त्यसको लागि पाठेघरको भित्ता वरपर रगत जम्मा हुन्छ त्यो रगतले भुर्ण पाएनभने पाठेघरले नै केही समय पछी रगतलाई बाहिर फाल्छ त्यही महिनावारीको रगत हो ” । त्यसपछीका हरेक तालिम, भेटघाट, छलफलको मौका पाउँदा त्यसरी नै महिनावारी पाप नभई प्रकृतीले मान्छे बनाउन दिएको खुराक हो । त्यसैले निर्धक्क होउँ महिनावारी हुँदा भेदभाव नगरौ भन्ने चित्र बनाएर बुझाउन कोसिश गर्दै गए। महिलाहरुले पछी‐पछीका भेटघाटमा “म्याडम पहिले हामीलाई महिनावारीको समयमा बाहिर निस्कदा आज कुनै पुरुषलाई छोइएर पापहुने होकी भनेर डर लागि रहन्थ्यो र छोइहाले धेरै दिनसम्म ग्लानी भइरहन्थ्यो । तर आजभोली डर हराएर निर्धक्क भएकाछौं भन्दा असाध्य खुसी हुन्थे । महिनावारी मान्ने हाम्रो समाजमा सदियौं देखि महिनावारीबारे भगवान र पापसँग जोडेर व्यक्तिमा हालिदिएको डर र विभेदपूर्ण व्यवहार अहिले पनि केही परिवर्तन त भएको छ । तर हाम्रो समाजले हामी आफै जन्मने रगतलाई ठ्याक्कै कोभिड भाइरस झै मानेर गरेको व्यवहारको अवस्था भने उस्तै छ । आजपनी नछुने, छुई, छुयो, पन्छेको, छाउ आदी नाममा कतै धेरै कतै कम विभेद कायमै छ । यस्तो व्यवहारले कसैको सिधै ज्यान नगइहाले पनि मन्दविष झैं नदेखिने गरी महिला, बालबालिका तथा समाजको मानसिक तथा शारिरिक स्वास्थ्यमा असर गरिरहेको छ । हामिलाई सामाजिक, आर्थिक मनोबैज्ञानिक विकासमा पछाडी धकेलिरहेको छ । सदियौं लगाएर समाजमा गढेर बसेको महिनावारी सम्वन्धी डरलाई फाल्न कानून, प्रशासनभन्दा स्वास्थ्य क्षेत्रले यो पाप हैन यो त महिलालाई प्रकृतिले मानब जन्माउन दिएको शक्ति हो भन्ने बुझाउन महत्वपूर्ण भुमिका निवाह गर्नुपर्छ । अहिले महिनावारीका बारेमा क्रमश धारणाहरु परिवर्तन भइरहेका छन् । तर, जुन रुपमा हुनुपर्ने हो त्यहि अनुपातमा भने हुन सकेको छैन । अझै मान्छे बनाउने रगत शरीर बाहिर निस्केकोमा त्यसलाई पाप मानेर ऋषि पंचमीको व्रत बस्नेहरु हाम्रो समाजमा छदैछन् । भनिन्छ, निदाएकोलाई उठाउन सजिलो हुन्छ, तर निदाए जस्तो गर्नेलाई उठाउन सजिलो हुँदैन । शिक्षित र लेखपढ गरेका आजका हामिहरुले अब महिनावारीलाई पाप भन्दै पखाल्न लिने व्रतको साटो महिला पुरुष दुबै मिलेर नबुझने समाजलाई समेत हामि त्यही रगतबाट बनेका मान्छे हौ कसरी हामीले आफै बन्ने रगतलाई विगतमा पाप ठान्ने मुर्खता गर्यौ । अब प्रकृतिले मानब जन्माउन महिलालाई दिएको शक्तिलाई सम्मानका रुपमा लिने बनाउन अभियान नै चलाउन जरुरी भईसकेको छ । यो अभियानमा हामी सबैजना लागी परौं ।

लेखक नेपाल सरकारको उपसिचबको रुपमा हाल ललितपुर महानगरपालिकाको महिला बिकास प्रमुखमा कार्यरत हुनुहुन्छ ।

खबर एक्सप्रेस