आज:  | Thu, 28, Mar, 2024

कात्तिक ८ गतेदेखी क्लिन फिड लागु बार्षिक ८ अर्बको बिज्ञापन बजार

२०७७, ७ आश्विन बुधबार २२:०७ मा प्रकाशित ( ३ साल अघि) १८१९८ पाठक संख्या

काठमाडौं, असोज ८ गते । नेपालको कानुन अनुसार आगामी कात्तिक ८ गतेसम्म विदेशी टेलिभिजन च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनुपर्छ । ‘विज्ञापनको नियमन गर्ने व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाईने छैन ।
इन्डिया ब्रोडकास्टर्स फोरम (आईबीएफ) ले कोरोना संक्रमणको कारण देखाउदै क्लिन फिड लागू हुने समय सीमा बढाउन नेपाल सरकारलाई पत्रमार्फत आग्रह गरेको छ । नेपालमा भारतीय च्यानल प्रसारण गर्ने टेलिभिजन सेवा प्रदायकहरूलाई पनि आईबीएफले पत्र पठाएको छ ।
यता नेपाल सरकार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एकवर्ष समयसिमा दिएको थियो । ऐनमा भनिएको छ– ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।
क्लिन फिड लागू भए नेपालमा आफ्नो उत्पादनको बजार भएका विदेशी कम्पनीले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्नुपर्ने छ ।

हालसम्म नेपालमा बजार प्रबर्द्धनका लागि उत्पादक कम्पनीले छुट्टै रकम खर्चिनु पर्दैन । जसका कारण नेपालमै रहेका बहुराष्ट्रिय कम्पनीहरूले नेपालका लागि विज्ञापनमा निकै कम खर्च गरिरहेको छन् । क्लिन फिड लागू भएमा नेपालको विज्ञापन बजार अहिलेको भन्दा दोब्बर हुनेछ भने सरकारको राजस्व पनि स्वत बढ्नेछ । नेपालका कलाकार र सेलिब्रिटीहरूको माग बढ्ने छ । विज्ञापनबाट नेपाली मिडिया हाउसहरु पनि लाभान्वित हुनेछन् । हाल नेपालमा बिज्ञापनको बजार वार्षिक ६अर्ब रहेको छ ।

 

खबर एक्सप्रेस