आज:  | Fri, 29, Mar, 2024

पोखरा जेसिज द्धारा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७, १२ आश्विन सोमबार १७:०६ मा प्रकाशित ( ३ साल अघि) १४४१६ पाठक संख्या

पोखरा १२ असोज ।
पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो । पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अनतर्ग दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो । पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फुलबारी स्रोत केन्द्रमा राखिएको छ । केन्द्रले सडक बालबालिकाको उद्धार गरी स्नातक सम्म अध्ययनको लागि समेत सहयोग गर्दै आइरहेको छ।
जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे । सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमाहरु समेत सडकमै रहने गरेको बताउँदै कुवँर त्यसता महिलाको समेत उद्धार गरी सिपमुलक तालिम दिएर जिविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए । ‘गरिबका मात्र होइन धनीका छोराछोरी समेत विभिध कारणले सडकमा आउने गरेका रहेछन ।
हामीले कोसिस गरे सम्भव रहेछ’ कुवँरले भने । गाउँपालिकाले खाना नफालौ अभियान समेत सञ्चालन गर्दै आएको कुवँरले बताए । ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपुर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटो सहित किचन तथा आवस समेत निमार्ण भएको श्रोतकेन्द्रका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए । २५ वर्ष देखि सरकारसंग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ । हाल सोहि केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगर लगायतले आफ्नो भनाइ राखेका थिए । हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् ।

खबर एक्सप्रेस