आज:  | Mon, 15, Apr, 2024

विदेशी पर्यटक ठूलो मात्रामा घटेपछि इटालीको पर्यटन उद्योग जोखिममा

२०७७, १३ आश्विन मंगलवार ००:०६ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

ऐजेन्शी, ग्रीष्म ऋतु इटालीको पर्यटन गर्ने सुनौलो अवधि हो। हरेक वर्षको ग्रीष्म ऋतुमा इटालीका ठूलो शहर, सानो गाउँ, पहाड र समुद्री क्षेत्रमा विश्वका विभिन्न देशका पर्यटकहरुको लर्को लाग्ने गर्छ। तथापि चालू वर्षको स्थिति फरक छ। नयाँ कोरोना भाइरस महामारीको प्रभावमा विदेशी पर्यटक ठूलो मात्रामा घटेपछि इटालीको पर्यटन उद्योगसामू गम्भिर अवस्था सिर्जना भएको छ।

नाभोना चोक इटालीको रोम शहरको एउटा चर्चित दृश्यावलोकन स्थल हो। नाभोना चोकको केन्द्रमा रहेको झरना विभिन्न मुलुकका पर्यटकहरुले फोटो खिच्ने प्रतीक हो। पहिले सदा भिड रहने सो चोक चालू वर्षको अगष्ट महिनामा निकै शान्त थियो। लाजिओ क्षेत्रको पर्यटन संघका जिम्मेवार व्यक्ति दानिल बरोचिले यसप्रति चिन्ता व्यक्त गरे, सामान्यतया यस अवधिमा झरना वरिपरि भिड रहन्थ्यो। तर अहिले पूरै खाली छ। ८० देखि १०० वटा मात्रै होटेल संचालनमा छ। अरु होटेलहरु बन्द भएका छन्। होटेलहरुले भाडा तिर्नुपर्छ। तिर्ननसक्ने हो भने जग्गा मालिकले होटेल फिर्ता लिने छन्। होटेल संचालन बन्द भएपछि पथप्रदर्शकहरु बेरोजगार हुने छन्, रेस्टुराँ र ट्राभल एजेन्सीमा गम्भिर क्षति पुग्नेछ। अहिले रोमको पर्यटन उद्योग ह्रास अवस्थामा रहेको छ।
इटालीको पर्यटन संघद्वारा जुलाईमा सार्वजनिक तथ्याँक अनुसार, चालू वर्षको जूनदेखि सेप्टेम्बर महिनासम्म इटालीको विदेशी पर्यटकहरुको संख्या गत वर्षको सोही अवधिको तुलनामा २ करोड ५० लाख घट्ने अनुमान छ। गत वर्षको तुलनामा एक चौथाई मात्र रहने अनुमान छ। विशेष गरी पर्यटन गर्ने मुख्य मुलुकहरू अमेरिका, रुस र चीनका पर्यटकहरुको संख्या एकदमै कम छ। जसबाट रोम र फ्लोरेन्स लगायत “संस्कृति र कला” विशेषता भएका शहरहरु गम्भिरताका साथ प्रभावित भएका छन्। चालू वर्षको ग्रीष्मकालीन अवधिमा रोमका विभिन्न पर्यटन स्थलमा भेटिने पर्यटक युरोपेली मुलुकका पर्यटकहरू हुन्। जर्मनीकी पर्यटक क्याथरिन यसो भन्छिन्,भिडभाड छैन। हरेक ठाउँ यस्तै छ। पर्यटक कम भएको हुनाले हामीले विस्तारै घुम्न पाएका छौं। हाम्रो लागि राम्रो छ, तथापि यस्तो स्थिति सामान्य होइन।
यस परिवर्तनको सामना गर्नका लागि पर्यटन उद्योगले स्वदेशी तथा युरोपेली संघका पर्यटकमाथि नजर पुर्‍याएको छ। लुसिया रोमको एउटा चार तारे होटेलकी मेनेजर हुन्। उनले चालू वर्षको ग्रीष्म ऋतुमा उनको होटेलले ठूलो मात्रामा मूल्यमा छुट लगायतका तरिकामार्फत पर्यटकलाई आकर्षण गरेको जानकारी दिँदै भनिन्,सामान्यतया युरोपेली पर्यटकहरु हिउँद ऋतुमा इटालीको यात्रा गर्न मन पराउँछन्। किनभने ग्रीष्मकालीन अवधिमा होटेलमा बस्ने खर्च निकै महँगो छ। अहिले पर्यटकहरुलाई आकर्षित गर्नका लागि मूल्य घटाउने कदम चाल्न आवश्यक छ।
इटाली सरकारले चालू वर्षको मार्च महिनादेखि १ खर्ब युरो भन्दा बढी आर्थिक उद्धार कदम चाल्दै आएको छ। तीमध्ये होटेल, ढुवानी, भोजन व्यवसाय र खुद्रा व्यापार लगायत पर्यटन सम्बन्धित व्यवसायलाई लक्षित गरिएको छ। ग्रीष्म ऋतु सकिन लागेको छ। नयाँ कोरोना भाइरस विश्वमा प्रभावकारी रुपमा नियन्त्रणमा आएको छैन। यसले विभिन्न देशको पर्यटन उद्योगको पुनस्उत्थानका लागि ठूलो प्रभाव पारेको छ। इटालीको पर्यटन विभागका प्रमुख बास्टिआनेलीले हाल गर्नसक्ने एउटै कुरा भनेको निरन्तरता दिनु हो भने, महामारी सकिएपछि पर्यटन उद्योगको तिव्र विकास हुने छ। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निरन्तरता दिनु हो। व्यवसायी र मानिसहरुले निरन्तर रुपमा काम गर्नुपर्छ, इटालीले विश्वको पर्यटन बजारमा आफ्नो आकर्षण जारी राख्नुपर्छ।

खबर एक्सप्रेस