आज:  | Thu, 18, Apr, 2024

सेनाको कात्तिक २ देखी ४ गतेसम्म पृतनापतिहरूको बैठक

२०७७, ३० आश्विन शुक्रबार २२:०३ मा प्रकाशित ( ३ साल अघि) ६९४५ पाठक संख्या

काठमाडौं, आश्विन ३० गते,
नेपाली सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक कात्तिक २ देखि ४ सम्म जंगी अड्डामा गर्ने भएको छ । भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नराभणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक गर्न लागेको छ ।
बैठकमा सबै पृतनापतिहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्था, सुरक्षा चुनौती, सांगठनिक अवस्था तथा सुझाब पेस गर्नेछन् ।
यसपटक काठमाडौंबाहिरका सात पृतनापतिहरू बैठकमा भिडियोमार्फत सहभागी हुने र ब्रिफिङ गर्ने कार्यक्रम छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं उपत्यकास्थित पृतनापति तथा विभागीय प्रमुख, महानिर्देशक एवं निर्देशकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर जंगी अड्डामा सहभागी हुनेछन् ।
बैठकमा नेपाली सेनाले अभ्यास गर्न लागेको कमान्डस्तरीय संरचनाबारे छलफल हुने बताईएको छ । भने हालका आठ पृतना हेडक्वार्टरमाथि पूर्वी, मध्य, पश्चिम र उपत्यका कमान्ड हेडक्वार्टर स्थापना गर्ने गरी छलफल पनि हुने तयारी भइरहेको छ ।
बैठकलाई रक्षामन्त्रीसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भने बैठकको समापन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नेछन् ।

खबर एक्सप्रेस