आज:  | Thu, 28, Mar, 2024

बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर

२०७७, ३० कार्तिक आईतवार १८:४४ मा प्रकाशित ( ३ साल अघि) १०९७५ पाठक संख्या

३० कार्तिक २०७७, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदा झैं महासचिव बिष्णु पौडेलमार्फत आज बिहान साँढे आठ बजेतिर बालुवाटारमा बोलाएर उपाध्यक्ष वामदेव गौतमलाई नयाँ ‘अफर’ गर्नुभएको छ । भेट्ने बित्तिक्कै प्रधानमन्त्रीले आफूलाई साथ दिए पार्टी अध्यक्षका रूपमा आफ्नो भागका कामहरु सुम्पने र उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिइने बताईएको छ। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘अध्यक्ष पनि अब तपाईं चलाउनुहोस् । उपप्रधानमन्त्रीसहित जुन मन्त्रालय चाहे पनि दिन तयार छु । तर, प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको त्यो प्रस्ताव भने फिर्ता हुनुपर्छ ।’

प्रधानमन्त्रीको प्रस्ताव सुन्नेबित्तिक्कै गौतमले ‘तपाईंले अफर गर्नुभएको अघिल्लो दुई वटै प्रस्ताववारे भन्नु केही छैन, तर यसको छिनोफानो तपाईंले भनेर हैन बैठकबाट हुनुपर्छ । प्रचण्डको प्रस्ताव फिर्ता गर्ने कुरो मबाट सम्भव छैन । किनभने त्यो प्रस्ताव मसहितको टिमको सहमतिमा ल्याइएको हो । मसमेतको सहमतिमा आएको उक्त प्रस्ताव मैले भनेर फिर्ता गर्ने कुरोचाँहि सम्भव नहोला ।त्यसपछि पनि गौतमले थपे ‘तपाईंले ती सबै प्रस्तावलाई बैठकमा पेश गर्नुहोस् । विधि र सहमतिबमोजिम यसअघिका निर्णय कार्यान्वयन गर्छु भन्नुस् अनि त्यतिबेला म पनि तपाईंकै पक्षबाट केही पहल गरौंला ।’

केही दिनअघि शीतल निवासबाट बोलावट भएपछिको भेटमा पनि गौतमलाई त्यस्तै खालको अफर आएको बताइन्छ । तर, आजको बालुवाटार भेटमा भने खुलेर स्पष्ट रूपमा ओलीले गौतमलाई ‘तपाईं प्रधानमन्त्रीबाहेक अरु के बन्न चाहनुहुन्छ भन्नुस् । म त्यो दिन तयार छु । तर, त्यसबाट पार्टीभित्रको विवाद समाधान हुनुपर्यो’ भन्ने प्रस्ताव गरेको बताइन्छ ।

हिजो साँझ प्रधानमन्त्री ओली अकस्मात शीतल निवास पुगेको विषयलाई अझैपनि राजनीतिक क्षेत्रमा अर्थपूर्ण ढंगले हेरिएको छ । केपीले अहिले पनि पहिले सङ्गै रहेका र वामदेवले अझै भनेको मान्ने झण्डै डेढ दर्जनको हाराहारीमा सांसद रहेको बताउँदै तिनको संख्या जोड्दा संसदीय दलमा स्पष्ट बहुमत हुने भएको विषयमा कुरा राख्दा राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीलाई समस्या समाधानको लागि वामदेवसँग हात बढाउनुहोस् भनेपछि आज बिहान गौतमलाई बोलाइएको बताइन्छ ।

त्यसैगरी अर्को स्रोतले दिएको जानकारीअनुसार कुनै हालतमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पुनः जारी गर्नेसम्बन्धमा राष्ट्रपतिको साथ र समर्थनको लागि प्रधानमन्त्रीले हिजो साँझ राष्ट्रपतिलाई भेटेका हुन। त्यो यसअघिको बिबादमा रातीराती अख्तियार प्रमुख र प्रधानन्यायाधीशलाई बालुवाटारमा भेटेर र राष्ट्रपतिसङ्ग पटकपटक छलफल गरेर नेताहरुलाई पार्टी बिभाजनको त्रास र कानूनी झमेलाको आतंकजस्तो मानसिक दवाव सिर्जना गरिएजस्तै हिजोको भेटको पनि सिलसिला रहेको बताइन्छ । हिजोको भेटमा राष्ट्रपति भण्डारीले दल बिभाजनसम्बन्धी अध्यादेश यसअघि झैं फेरि जारी हुनेबित्तिक्कै सर्वोच्चमा मुद्दा पर्ने या अनुमोदनको निम्ति सँसदमा जानैपर्ने र त्यसो गर्दा नयाँ राजनैतिक ध्रुविकरण सिर्जना हुने भएकोले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउनेतिर भन्दा गौतमलाई जे जे अफर गरेर भएपनि आफूतिर ल्याउने पहल गर्न सल्लाह दिनुभएको बुझिएको छ ।

गौतम स्वयमले बेलाबखत भन्ने गर्नुभएको छ ‘मेरा मान्छेले सँसदीय दलमा साथ दिए भने केपीलाई बहुमत पुग्छ । त्यसबाट संसदीय दल विभाजनको लागि आवश्यक ४० प्रतिशतसमेत पुग्छ ।’ अहिले तिनै सांसद आफूतिर तान्नको लागि गौतमलाई नयाँ ढंगले फकाउन थालिएको एकथरिको अनुमान छ । तर, गौतम पार्टी फुटको निम्ति तयार छैनन।

 

खबर एक्सप्रेस