आज:  | Thu, 02, Feb, 2023

गण्डकीको बजेटः मन्त्रीका बाबुआमाको नाममा करोडौ बजेट

२०७९, २६ असार आईतवार १४:३३ मा प्रकाशित ( ६ महिना अघि) ३५०४ पाठक संख्या

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए ।

पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका-१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ ।मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ । सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि सोही वडामा बजेट धेरै थुपारिएको छ ।

खबर एक्सप्रेस