भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।
उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए । उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए ।
मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताए ।