आज:  | Thu, 30, Mar, 2023

शपथ सम्बन्धी विधेयक पारित

२०७९, २६ श्रावण बिहीबार १०:०४ मा प्रकाशित ( ७ महिना अघि) ४४९६ पाठक संख्या

काठमाडौँ, साउन २६ गते । संविधान जारी भएको सात वर्षपछि सङ्घीय संसद्ले शपथसम्बन्धी विधेयक पारित गरेको छ । संविधानले सार्वजनिक पद धारण गरेका व्यक्तिले कार्यभार सम्हाल्नुअघि पद तथा गोपनीयताको शपथ लिने व्यवस्था गरेको छ । यसमा लामो समयदेखि कानुनविहीन रूपमा शपथ हुँदै आएको थियो । नियुक्तिसम्बन्धी सम्बन्धित कानुनले तोकेको हकमा सोहीबमोजिम र अन्य राजकीय पदमा अभ्यासअनुसार शपथ हुँदै आएको थियो । शपथको स्पष्ट बेहोरा नहुँदा कतिपय अवस्थामा विवादितसमेत बनेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विवाद भएपछि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेश प्रतिस्थापन नहुँदा निष्क्रिय भएपछि सरकारले २०७८ असोजमा नयाँ विधेयक ल्याएको थियो । सङ्घीय संसद्का दुवै सभाबाट विधेयक पारित भएको हो । अब प्रतिनिधि सभाबाट पारित विधेयकको जानकारी राष्ट्रिय सभामा पठाइनेछ । त्यसपछि प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

खबर एक्सप्रेस