भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् । सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ । त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा गायक राहत फतेह अली खानको स्वर छ । देव राजको कम्पोज रहेको गीतमा हरिशंकर सूफीको शब्द छ ।
तेस्रो गीत ‘तुम प्यार हो’ मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर छ भने असलम कीको कम्पोज र कुमारको शब्द छ । चौंथो गीतमा ‘मुझ में बस जाना’ मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । रोमान्टिक शैलीमा तयार यो गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द छ ।
आगामी असोज ७ गतेबाट फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म भारतको लागि हिन्दी डब गरिएको छ ।
स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।
फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।