आज:  | Fri, 19, Apr, 2024

दसैँमा करिब २० लाखले उपत्यका छोड्ने

२०७९, १० आश्विन सोमबार २२:५८ मा प्रकाशित ( १ साल अघि) ४९३० पाठक संख्या

काठमाडौँ । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो ।

तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

 

खबर एक्सप्रेस