आज:  | Sat, 10, Dec, 2022

भारतीय सुपरिचित महिला बाइकर्स, फिट्नेस ट्रेनर मिनाक्षी दासले नेपालको बाइक राइड गर्ने

२०७९, १२ आश्विन बुधबार १३:२६ मा प्रकाशित ( २ महिना अघि) ४२४८ पाठक संख्या

भारतको पुर्वोत्तर असम राज्यको राजधानी गौहाटीबाट सुपरिचित महिला बाइकर्स, मोटोब्लगर, फिटनेस ट्रेनर एवं नयाँ-नयाँ पर्यटकीय गाउँ-ठाउँहरुको खोजबिनकर्ता मिनाक्षी दासले आगामी १ अक्टोबर २०२२ देखि असम हुँदै २ तारिख अक्टोबरदेखि पूर्वीय नेपालको प्रवेशद्वार काकरभित्ताबाट एकल बाइक यात्रा गर्ने भएकी छिन् । उक्त यात्राको क्रममा नेपालको दमक, हेटौंडा, मुग्लिन, तनहुँ-दमौली, पोखरा, जोमसोम, मुक्तिनाथ, मनाङ मुस्ताङ हुँदै काठमाडौको विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थान लगायत नेपालीहरुको महान चाड दसैं तिहार सहित विविध जनजातिको पर्व, संस्कार, संस्कृतिको पनि नजीकबाट स्थलगत अध्ययन, निरीक्षण गर्ने एवं सोको प्रवर्द्धन गर्ने भएकी छिन ।
काठमाडौबाट उनको यात्रा सिन्धुली हुँदै बर्दिबास भएर पुनः काकरभित्ता हुँदै गौहाटीमा १५ अक्टोबर २०२२ को टुंगिने कार्यक्रम रहेको छ ।
उक्त यात्राको क्रममा उनले चर्चित नेपाली भाषामा बनेर पहिलो पटक हिन्दीमा समेत रिलिज भएको चर्चित फिल्म प्रेम गीत-३ को पनि प्रवर्द्धन गर्ने भएकी छिन् ।


उनको यात्रालाई लिएर भारतमा आजादीको अमृत महोत्सव समिति कालेबुङ दार्जिलिङ जिल्ला एवं नेपालमा युथ फर सेवा एवं प्रेम गीत-३ चलचित्र परिवार एवं काकरभित्तामा समाजसेवी ब्यवसायी लक्ष्मी कार्कीले उचित समन्वयनको कार्य गरिरहेका छन भने असमबाट असम सरकार एवं भारतका विभिन्न निकायसहित संघ-संस्थाले प्रायोजन गरिरहेको थाहा लागेको छ ।
स्मरण रहोस् महिला बाइकर्स दासले एक अब्बल बाइकर्सको रूपमा आफ्नो पहिचान कायम राख्दै विभिन्न कीर्तिमान हासिल गरेसकेकी छिन् । हालै भारतको उपराष्ट्रपतिले आफ्नो निवासमा आमन्त्रण गरी सम्मानित समेत गरेका छन् । उनको नेपाल बाइक यात्राको उद्देश्य भारत-नेपाल बीचको पराम्परागत दिगो भातृ सम्बन्धलाई अझ प्रगाढ बनाउनु एवं नारी सशक्तीकरण माथि केन्द्रित रहेको छ ।

खबर एक्सप्रेस