आज:  | Sat, 10, Dec, 2022

फेवाताल सरसफाइ महाअभियान

२०७९, २५ आश्विन मंगलवार २१:४२ मा प्रकाशित ( १ महिना अघि) २७६० पाठक संख्या

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ ।
महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
“फेवाताल पोखराको गहना हो । यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व हो, आजको उपस्थितिले पुष्टि गरेको छ ।” उनले सबैको सक्रिय सहभागिताले दुई सय ट्रकभन्दा बढी फोहर सङ्कलन गर्न सफल भएको बताए । उनका अनुसार तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार अभियानका क्रममा निकालिएको छ ।

सरसफाइका लागि फेवाड्याम, ड्यामसाइड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट , नेपाल ट्रष्ट, पाहारी घाट, माछासेक्सन, फेवा घाट, स्वीमिङपुल हल्लनचोक, क्याम्पिङ चोक, खहरे घाट, बङ्गलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाटदुना टपरी, क्यारोनो भाखपौदी र इन्दअफ दि लेकका ३३ वडा पोइन्टहरू निर्धारण गरिएको महानगर प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाले जानकारी दिनुभएको छ ।

खबर एक्सप्रेस