आज:  | Sat, 10, Dec, 2022

भारतीय अभिनेत्री शबाना आजमी नेपाल आउने

२०७९, २८ कार्तिक सोमबार ०८:२३ मा प्रकाशित ( ३ हफ्ता अघि) १४२७ पाठक संख्या

काठमाडौं । भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । काठमाडौंमा आगामी ९ मंसिरबाट सुरु हुन लागेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् ।

आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको हो । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन् । मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबानाले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

 

खबर एक्सप्रेस