आज:  | Sun, 26, Mar, 2023

अहिलेसम्म फुटबल विश्वकप कुन कुन देशले जिते

२०७९, २८ कार्तिक सोमबार ०८:५३ मा प्रकाशित ( ४ महिना अघि) ४६५१ पाठक संख्या

काठमाडौँ । नोभेम्बर २० देखि विश्व फुटबलको कुम्भ मेला कतारमा शुरु हुदैछ । हरेक चार बर्षमा खेलिने फुटबलको विश्वकपका कारण यति बेला यस बारे धेरै फुटबल फ्यानहरुको चासो रहेको छ ।

अहिलेसम्म फुटबल विश्वकप कुन कुन देशले जितेका छन्

१९३० मा खेलिएको पहिलो विश्वकपपछि अब कतारमा हुने विश्वकप २२औं विश्वकप फुटबल हो । यस बीचमा सन् १९४२ र १९४६ मा दुई पटक विश्व युद्धका कारण विश्वकप फुटबल आयोजना हुन सकेको थिएन ।

यस अघि भएका २१ विश्वकप फुटबलमा सबैभन्दा धेरै पटक विश्वकप जित्ने देश ब्राजिल हो । ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । तर ब्राजिलले पछिल्लो पटक २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

ब्राजिल १९५० र १९९८ मा फाइनलमा पुगेर पराजित भएको थियो । त्यस्तै १९३८ र १९७८ मा विश्वकपमा तेस्रो भएको थियो भने १९७४ र २०१४ को विश्वकपमा चौथो स्थान हासिल गरेको थियो ।

ब्राजिलपछि धेरै पटक विश्वकप जित्ने देश जर्मनी र इटाली हो । दुवै देशले ४(४ पटक विश्वकपको उपाधि जितेका छन् । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो भने इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २(२ पटक विश्वकपको उपाधि जितेका छन् । अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकपको उपाधि जितेको छ भने १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

फ्रान्सले १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २००६ को विश्वकपको उपविजेता बनेको थियो ।

उरुग्वेले १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने त्यसपछि १९५४, १९७० र २०१० मा चौथो स्थान हासिल गरेको थियो ।

त्यस्तै ईङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । ईङल्याण्डले १९६६ मा विश्वकपको उपाधि जितेको थियो भने स्पेनले २०१० को विश्वकप जितेको थियो ।

खबर एक्सप्रेस