आज:  | Thu, 25, Apr, 2024

नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ बर्षका दिन उद्घाटन हुने

२०७९, १५ पुष शुक्रबार १३:२८ मा प्रकाशित ( १ साल अघि) ४२७९ पाठक संख्या

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।
यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् ।

शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।

उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताए ।

खबर एक्सप्रेस