आज:  | Fri, 22, Mar, 2024

पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गयो

२०७९, ६ चैत्र सोमबार १७:३९ मा प्रकाशित ( १ साल अघि) ३२८७ पाठक संख्या

बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ । बर्दिया मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहोराले जानकारी दिएका छन् ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ । मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै रौतहटमा दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीया मीना मगरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ५ जनाको समुहमा घाँस दाउरा लिन गएकी मगरलाई हातीले आक्रमण गरेपछि उनीसँगै जंगल पुगेका अरु भने भागेर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर एक्सप्रेस