आज:  | Thu, 28, Mar, 2024

तीन किसिमकै पीडितलाई न्याय दिइनेछ : उपप्रधान तथा गृहमन्त्री

२०७९, १९ चैत्र आईतवार १५:३१ मा प्रकाशित ( १२ महिना अघि) २२६४ पाठक संख्या

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले आयोग गठन गर्न लागेको जानकारी दिए । त्यसपछि सांसदहरुले सरकारले आयोग गठन गरेर पिडकलाई उन्मुक्ति दिन खोजेको आशंका गरे ।
सांसदको आशंका र विभिन्न जिज्ञासाप्रति फेरि जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यसअघिका जस्ता आयोग नभएर तत्काल नै पीडितलाई न्याय दिन आयोग गठन गर्न लागेको जानकारी गराए । कुनै पनि बहानामा मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्ने विषयलाई पन्छयाउन वा ढिला गर्न सकिँदैन,’ उनले भने, ‘यसमा सबैको साथ र सहयोग चाहिन्छ । कुनै तर्क बितर्क गरेर अब बसिँदैन । पीडितलाई न्याय दिइनेछ ।’
मिटरब्याजी पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले तीन किसिमका पीडित रहेका जानकारी दिए । उनका अनुसार आवाज उठाउन नसक्ने, आवाज उठाउन संगठित भइरहेका र न्यायालयमा गए पनि तमसुकका आधारमा भएका फैसलाबाट पनि न्याय नपाएका तीन किसिमकै पीडितलाई न्याय दिइनेछ ।

खबर एक्सप्रेस