आज:  | Fri, 29, Mar, 2024

अन्नपूर्ण वसन्तयामको आरोहण सुरु

२०८०, २ बैशाख शनिबार २२:०८ मा प्रकाशित ( ११ महिना अघि) १६७५ पाठक संख्या

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो । सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्ट्रेलियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरुको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

यसवर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल छ ।

इलाइट ट्रेकिङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएका थिए । आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरेका छन् । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

खबर एक्सप्रेस