आज:  | Tue, 16, Apr, 2024

नेपालमा विदेशी ५ फिल्मले मात्र ५० करोड कमाए

२०८०, ६ बैशाख बुधबार ११:३८ मा प्रकाशित ( १२ महिना अघि) २०७८ पाठक संख्या

गणेश तिवारी काठमाडौं । नेपालमा नेपाली चलचित्रको ब्यापार केही चलचित्रको मात्र राम्रो हुने गर्दछ । चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा बर्ष २०७९ मा प्रदर्शनमा विदेशी ८३ फिल्म प्रदर्शन भए । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने पाँच विदेशी फिल्म

१.केजीएफ (च्याप्टर)
कन्नड फिल्म ‘केजीएफः च्याप्टर २’ नेपालमा सर्वाधिक ग्रस कमाई गर्ने विदेशी फिल्म बनेको छ ६ लाख ७७ हजार ६ सय ९९ टिकट बिक्री हुँदा १९ करोड २९ लाख १३ हजार ७ सय ५८ ग्रस कमाएको थियो । प्रशान्त निलको निर्देशन रहेको फिल्ममा यश, श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राजलगायतको अभिनय छ ।

२. पठान
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्मको दोस्रो सूचीमा ’पठान’ले नेपालमा ४ लाख ३७ हजार २ सय ४५ टिकट बिक्री भएबापत १३ करोड २७ लाख ९१ हजार ३ सय ६० रुपैयाँको ग्रस कमाई गरेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्म यशराज फिल्म्सले निर्माण गरेको फिल्म अभिनेता शाहरुख खानको कमब्याक हो भने दीपिका पादुकोण, जोन अब्राहमसँगै विशेष भूमिकामा सलमान खानको अभिनय छ ।

३. अवतारः द वे अफ वाटर
हलिउड फिल्म ‘अवतार’ को दोस्रो शृङ्खला ‘अवतारः द वे अफ वाटर’ नेपालमा फिल्मको २ लाख ६८ हजार ६ सय ७४ टिकट बिक्री भएबापत ८ करोड ३० लाख ६७ हजार ८ सय ८६ रुपैयाँको ग्रस कमाई गरेको छ । निर्देशक जेम्स क्यामरून रहेको फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतले अभिनय गरेका छन् ।

४. ब्रह्मास्त्र पार्ट वान शिवा
ब्रह्मास्त्र पार्ट वान शिवा फिल्मले नेपालमा एक लाख ५० हजार एक सय ४३ टिकेट बिक्री भएबापत चार करोड ४७ लाख पाँच हजार ८ सय ८३ रुपैयाँको ग्रस कमाई गरेको छ। करण जोहरको निर्माण तथा अयान मुखर्जीको निर्देशनमा तयार भएको फिल्ममा रणवीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, अक्किनेनी नागार्जुन रावसहित शाहरुख खान विशेष भूमिकामा छन् ।

५. डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्म पाँचौँ स्थानमा ‘डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस’ रहेको छ । फिल्मको १ लाख २४ हजार एक सय ५९ टिकेट बिक्री भएबापत ३ करोड ८१ लाख ६ हजार ५ सय ११ रुपैयाँ भएको थियो। निर्देशक सामुएल मार्शल राइमीको निर्देशनमा तयार भएको फिल्ममा बेनेडिक्ट कुम्बरब्याच, एलिजाबेथ ओल्सेन, चिवेटोल इजोफोर, बेनेडिक्ट वङको अभिनय रहेको छ।

खबर एक्सप्रेस