काठमाडौँ । प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते उक्त सम्मेलन आयोजना गर्न लागिएको दिइएको हो । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको उक्त सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाट गर्ने तय भएको छ । सो सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा छ । खप्तड क्षेत्र प्रकृति, पर्यटन, आध्यात्मिक लगायत दृष्टिले महत्वप्रर्ण छ । यस क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । सो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । यहाँ विभिन्न किसिमका जडीबुटीहरु पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको उक्त क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल खप्तड पुगिन्छ । झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झण्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।