आज:  | Wed, 27, Sep, 2023

सांसद ज्ञानेन्द्र शाहीले जव रारामा छायांकन “प्रेमगीत २” ले गर्दा हजारौ नेपाली रारा पुगेको चर्चा गरे•••••

२०८०, २३ जेष्ठ मंगलवार ००:२३ मा प्रकाशित ( ३ महिना अघि) १५८२ पाठक संख्या

कर्णालीलाई संसारमा चिनाउने उत्सव “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को लोगो र औपचारिक घोषणा कार्यक्रममा मन्तब्य राख्दै गर्दा माननिय ज्ञानेन्द्र शाहीज्युले  जव रारामा छायांकन भएको चलचित्र “प्रेमगीत २” ले गर्दा हजारौ नेपाली रारा पुगेको चर्चा गर्नु भयो,  स्वाभाविक रुपमा यस चलचित्रको लेखक, निर्देशक भएको नाताले मलाई खुसी लाग्ने नै भयो । यो खुसी सङ्गै त्यो दिन याद आयो मलाई । साथिहरुसङ्ग म सुर्खेतबाट दैलेख हुदै कालिकोटको बाटो रारा (मुगु) हानिएको थिए । मैले एउटा यस्तो दृश्य देखे, वारी कालिकोट, पारी जुम्ला अनि विचको विशाल फांटमा नम्बरी सुनसरी झुलीरहेका धानका बालाहरु । हाम्रो ३ गाडीहरु मध्ये २ पहिले हुईकीसकेका थिए । मेरो अनुरोधपछि भाईले गाडी रोक्यो । डिलैको देवारको रुखमा अडेस लागेर मैले निक्कै बेर त्यो फांट हेरिरहे । भाषा र सभ्यताको भकारी यहि ठाउँ हो भनेर थाहा थियो मलाई तर अन्नको भकारी पनि यहि रहेछ । मार्सी धानको भकारी देखेरै म तृप्त भए, म धन्य भए । यो मनमोहक दृष्य देखेपछि मलाई प्रेमगीत २ को छायांकन जुम्ला र कालिकोटमा गर्न मन लागेको थियो । तर योजना रारा भएको कारण मैले त्यसै चित्त बुझाउनु पर्यो । त्यहाका मानिसहरु, तिनका मित्रवत ब्यबहार, म बोल्न जान्दिन त्यहाको भाषा तर सजिलै बुझे मैले । “रारा त पुगी नै हाल्नुहुन्छ, अलिदिन घुम्नु पनि हुन्छ होला, आज यतै  बसौ न वास! मिठो पिठो जे छ खाउला… भलाकुसारी गरौला” हामीलाई भन्न मनमा कति कुरा उम्लीरहेका थिए होलान तर हामीले उहाको एक रातको सत्कार पनि स्वीकार गर्न सकेनौ । तर पनि मनमा भने अवस्य यस्तो विचार आएको थियो, मेरो  देश उल्टो हिडीरहेको छ । जहाबाट भाषा र सभ्यताको सुरुवात भयो त्यहि ठाउँलाई राज्यले ठुलो उपेक्षा गरिरहेको छ । मैले रारा र मुर्मा गाउँ को छायांकन त गरे तर यतिले मात्रै कर्णालीको सुन्दरता पूर्ण हुदैन । त्यहाको विकटता भित्रको दु:खलाई देखाएर पनि हुदैन । त्यो विकटतामा पनि मुस्कुराएका अनुहारहरु, दु:ख भित्र पनि  रमाईरहेका अनुहारहरु कस्ले देखाउने ? कसरी देखाउने ? वास्तबमा म मन लिएर फर्किएको थिए । 

तर अब कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदैछ । यस्ले  सबै सम्बद्द पक्ष र खासगरी चलचित्रकर्मी माझ चेतनाको सन्चार गर्न सकोस । यो स्वर्गको टुक्रा र यहाको कथा, जिवनशैली, भाषा, साहित्यलाई देशदेखी विदेशसम्म प्रचारप्रसार गर्न सकोस । यो महोत्सवको अत्याधिक सफलताको शुभकामना सहित दर्शन नेपाल क्रियसन परिवार जहिले पनि यथासम्भव सहयोग गर्न तत्पर छ भन्ने वाचा गर्दछ । 

राम शरण पाठक  लेखक, निर्देशक दर्शन नेपाल क्रियसन प्रा.लि.

खबर एक्सप्रेस