काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र बगानको ट्रेलर सार्वजनिक गरिएको छ । एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तान प्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा प्रमिला कार्कीको अभिनय रहेको छ । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठ रहेका छन् । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।
कार्यक्रममा फिल्मका निर्देशक तथा अभिनेता खनालले नेपालमा रहेका करिब १५ लाख जना एकल आमालाई यो चलचित्र निशुल्क हेर्ने व्यवस्था गरेको बताएका छन् । कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख तथा माइती नेपालकी अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।
स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले कलर गरेका छन् । असार २९ गते प्रदर्शन हुने चलचित्रलाई वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।