डा. महेन्द्रकुमार मल्लको नयाँ शैलीको मौलिक तीज गीत ‘राधा’ को मंगलबार नेपाली भाषा शिक्षा विभाग सुर्खेत बहुमुखी क्याम्पसको आयोजनामा एक कार्यक्रमका बीच क्याम्पस प्रमुख माधव खनालले लोकार्पण गरेका हुन् । चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको उक्त गीत विशेष गरी एउटा नव युवतीको युवतीको युवासुलभ भावनामा आधारित रहेर लेखिएको छ ।
भाषा तथा साहित्यमा विद्यावारिधि गरेका डा.मल्लले नव युवतीको हुर्कँदै बढ्दै गर्दा जीवनमा आएको परिवर्तनको विषय, बिहे पश्चात् माइतीलाई सम्झँदै मनमा उब्जेका भावनालाई सम्बोधन गर्ने गरी लेखिएको बताए ।
‘राधा’ गीत सुर्खेतको चर्चित पर्यटकीय स्थल बुलबुले उद्यानमा छायाङ्कन गरिएको हो । गीतमा संगीत चर्चित गायक शिव संगीतले भरेका हुन् भने भिडिओमा दीपा शाहीको अभिनय रहेको छ । कुलमान नेपालीको निर्देशनमा बनेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रहेका डा. मल्लको कर्णालीको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनी सुर्खेत बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत हुन् । यद्यपि उनले कर्णालीमा रहेर नेपाली साहित्य र गीतसङ्गीतको क्षेत्रमा काम गरिरहेका छन् । डा. मल्लका यसअघि पनि गीतहरू बजारमा आइसकेका छन् । उनले लेखेका थुप्रै गीतहरू चर्चित कलाकारहरूले गाएका छन् । आज आएको गीत महेन्द्र कुमार मल्ल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ् ।