काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न रोक लगाएको छ । खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न भन्दै असोज दोसो सातासम्मका लागि उडानको अवधि तोकेको हो । विमानस्थल सञ्चालन निर्देशिकाले उडानको समय बिहान पौने ७ बजेदेखि दिउँसो साढे १२ बजेसम्म तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए ।
ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टीकापुर, महेन्द्रनगर र इलाममा दिउँसो साढे १२ बजेपछि उडान हुने छैन । त्यस्तै खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाँडा, काँगेलडाँडा, बागलुङ, दार्चुला र मेघौली विमानस्थलमा पनि मध्याह्न साढे १२ बजेपछि उडान नहुने प्राधिकरणले जनाएको छ ।