काठमाडौँ । बलिवुड फिल्म गदर २ ले घरेलु बक्स अफिसमा आइतबार पनि शानदार कमाई गरेको छ । गदर२ ले भारतीय बक्स अफिसमा रिलिजको तेस्रो दिन आइतबार ५१ करोड ७० लाख भारु कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ४० करोड कमाई गरेको थियो भने शनिबार ४३ करोड कमाई गरेको थियो । फिल्मले रिलिजको शुरुवातको तीन दिनमा नै १३४.८८ करोड कमाई गरेको छ ।
सन्नी देओल र अमिषा पटेलको प्रमुख भूमिका रहेको गदर२ ले बलिवुडको बक्स अफिसलाई लयमा फर्काएको विश्वास गरिएको छ । कोरोना महामारीपछि सिनेमा घर खुलेपछि धेरै कम फिल्मले मात्र बक्स अफिसमा सुपरहिटको दर्जा पाएका छन् ।
त्यस्तै शुक्रबार नै रिलिज भएको अक्षयकुमारको फिल्म ओएमजी२ ले पनि रिलिजको तीन दिनमा शानदार कमाई गरिरहेको छ । ओएमजी २ ले पहिलो दिन १० करोड २६ लाख, दोस्रो दिन १५ करोड ३० लाख र तेस्रो दिन आइतबार १७ करोड ५५ लाख भारु कमाइ गरेको तरण आदर्शले बताएका छन् ।