देशभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष यही समयमा देशभर ९४ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । बिस्तारै मनसुन सक्रिय र रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको हो ।
मध्य तराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेको छ । साउन मसान्तसम्ममा ९२–९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको छ । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्म ९४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९४ प्रतिशत भूभागमा नै धान रोपाइँ सम्पन्न भएको थियो ।
मधेस प्रदेशमा हालसम्म ६८ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन २६ गतेसम्म बागमती प्रदेशमा ९७ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्षको साउन २६ गतेसम्म यो प्रदेशमा ९७ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो ।
कर्णाली प्रदेशमा हालसम्म ९८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा सो प्रदेशमा ९९ प्रतिशतमात्र रोपाइँ भएको थियो ।सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा शत्प्रतिशत अर्थात् सबै भूभागमा धान रोपाइँ सकिएको थियो ।