आज:  | Wed, 27, Sep, 2023

काठमाडौँ महानगरले पहिलो पटक डेंङगु नियन्त्रणमा बायो लार्भीसाइड छर्कंदै

२०८०, ३२ श्रावण बिहीबार ०९:०४ मा प्रकाशित ( १ महिना अघि) १५६ पाठक संख्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंङगु सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी गरेको छ ।

कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन । उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ । अहिले कामपामा ४० जना डेंङगु रोग सङ्क्रमित रहेका पनि प्रमुख पौडेलले जानकारी दिए । मजबुत तरिकाबाट पूर्वतयारी गरेकाले विगतको वर्षको तुलनामा यस वर्ष डेंङगु सङ्क्रमितको सङ्ख्या कम रहेको छ तरपनि आउने दिनका लागि तयारी पूरा गरिएको पौडेलले जानकारी दिए ।
विगतका वर्षहरूमा अहिलेसम्म आउँदा दैनिक १०र१५ जनामा सङ्क्रमण देखा पर्ने गरेको थियो अहिले भने कहिलेकाहीँ मात्रै सङ्क्रमित देखा पर्ने गरेका छन् । काठमाडौँ जिल्लामा भने हालसम्म एक सय ९६ जनामा पुष्टि भएको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यो रोग लाग्दा ज्वरो आउने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्दछ ।
नेपालमा डेङ्गी सङ्क्रमण देखा पर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो । यस वर्ष पनि डेङ्गी सङ्क्रमण दर बढ्ने अनुमान गरिएको छ ।

 

खबर एक्सप्रेस