आज:  | Wed, 27, Sep, 2023

नेपालमा प्याजको मुल्य बढ्न सक्ने

२०८०, ४ भाद्र सोमबार ०८:१७ मा प्रकाशित ( १ महिना अघि) ४६६ पाठक संख्या

काठमाडौँ । भारत सरकारले प्याजको मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । शनिबार भारतको अर्थ मन्त्रालयले एक सूचना जारी गरी तत्काल लागुहुने गरी डिसेम्बरसम्मका लागि ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेको छ । सेप्टेम्बरसम्ममा प्याजको मूल्य झण्डै दोब्बर हुने केही मिडियाले बताएका छन् ।

भारतमा अहिले प्याज प्रतिकिलो ३० भारुसम्ममा बिक्री भइरहेको छ । प्रतिवेदनअनुसार सेप्टेम्बरसम्ममा राम्रो गुणस्तरको प्याजको मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँसम्म पुग्न सक्ने बताइएको छ । खाद्यवस्तु र विशेषगरी तरकारीको मूल्यमा भएको वृद्धिका कारण जुलाई महिनामा भारतको खुद्रा मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ । यो खुद्रा मुद्रास्फीतिको १५ महिनाकै उच्च हो । यसरी पछिल्लो पाँच महिनामा पहिलो पटक खुद्रा मुद्रास्फीति दर आरबीआईको लक्ष्य २ देखि ६ प्रतिशतको सीमा नाघेको छ ।

भारतको यो कदमले नेपालमा प्याजको मुल्य बढ्ने देखिएको छ । आइतबार कालिमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको औसत मुल्य ६१ रुपैयाँ प्रतिकिलो रहेको छ । अब भारतले ४० प्रतिशत कर लगाएपछि नेपालमा प्याजको मुल्य बढ्ने देखिएको हो । नेपाल सरकारले यस अघि नै भारतबाट आयात हुने तरकारीमा १३ प्रतिशत भ्याट लगाइसकेको छ ।

खबर एक्सप्रेस