काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भएपछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि उनी काठमाडौं तिर लागेको श्रोतले बताएको छ । जसका कारण उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्नेभए पछि सत्तारूढ दलमा संकट उत्पन्न भएको छ । एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिएपछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।
उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भएपछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।