काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ । शुक्रबार ब्यूरोले प्रेस विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.npमा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न अनुरोध गरेको छ । ब्यूरोले भनेको छ( ‘एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रुपमा ब्यूरोले अनुसन्धान गरिरहेको व्यहोरा सर्वविदितै छ । यसभन्दा अगाडि विभिन्न मितिमा भएका सुन तस्करीका सम्बन्धमा समेत ब्यूरोबाट अनुसन्धान भइरहेको छ ।
त्यसबारे कुनै महत्वपूर्ण सूचना भए कार्यालयमा प्रत्यक्ष रुपमा आएर समेत उपलब्ध गराउन सकिने भनिएको छ । ब्यूरोले भनेको छ । यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने सबैमा जानकारी गराउन चाहन्छौं । आमनागरिकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य, तथ्यमा पुग्ने हुँदा त्यसमा सकरात्मक सहयोगको अपेक्षा गरेका छौं । सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको रास्वपा सभापति एवं सांसद् रवि लामिछाने लगायतले संसद बैठकमै बताइरहेका बेला ब्यूरोले सुन तस्करी सम्बन्धि कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको छ ।