एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एशिया कप बुधबारदेखि शुरु भैरहेको छ । एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाएको हो ।
एशिया कपका यस अघिका १५ संस्करणमा २०१६ र २०२२ मा टी२० फर्म्याटमा खेलिएको थियो भने १३ संस्करण एकदिवसीय फर्म्याटमा खेलिएको छ ।
अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक एशिया कपको उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । भारतले १९८४, १९८८, १९९०(९१, १९९५, २०१०, २०१६ र २०१८मा एशिया कपको उपाधि जितेको थियो ।
श्रीलंकाले अहिलेसम्मका ६ पटक उपाधि जितेको छ भने ६ पटक नै उपविजेता बनेको छ । श्रीलंका एशिया कपको डिफेन्डिङ च्याम्पियन पनि हो । श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एशिया कपको उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । पाकिस्तानले २००० र २०१२ मा एशिया कपको उपाधि जितेको थियो । त्यस्तै बंगलादेश अहिलेसम्म ३ पटक उपविजेता बनेको छ ।
यस बाहेक युएईले ३ पटक एशिया कप खेलेको छ भने हङकङले ४ पटक अफगानिस्तानले ३ पटक एशिया कप खेलेका छन् ।