आज:  | Wed, 27, Sep, 2023

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

२०८०, १६ भाद्र शनिबार १३:०३ मा प्रकाशित ( ३ हफ्ता अघि) २४९ पाठक संख्या

जुम्ला । जुम्लाका किसान बगैँचामा स्याउ टिप्न व्यस्त भएका छन् । स्याउ टिप्न लायक भएपछि व्यापारीहरु स्याउ खरिदका लागी किसानको बगैँचासम्म पुग्ने गरेका छन् ।

अहिले किसानको बगैँचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरिद गर्ने गरिएको छ । स्थानीय र गोल्डेन जातका स्याउ घरमै प्रतिकेजी रू ५० मा बिक्री सुरु गरेको किसान गोरीकला रोकायाले बताईन ।
जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको छ । भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने बताईएको छ ।

गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्स लगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको छ । साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।
जुम्ला जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको बताईन्छ ।

खबर एक्सप्रेस