आज:  | Wed, 27, Sep, 2023

अभिनेत्री मनिषाको नेपाली फिल्म खेल्ने चाहना

२०८०, १९ भाद्र मंगलवार ०९:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) १२५ पाठक संख्या

अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय पश्चात पनि अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त रहदै आएकी छिन् । उनले हालै सम्पन्न एक कार्यक्रममा नेपाली चलचित्रको राम्रो कथामा आफुलाई प्रस्ताब आए अभिनय गर्न सकिने बताइन् । नेपाली चलचित्रमा काम गर्ने इच्छा छ । समय र परिस्थिति नमिलेको मात्र हो अभिनेत्री कोइरालाले भनिन् ।
चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्छ पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने उनले बताइन् ।
मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन् । अभिनेत्री कोइरालाले भनिन्, अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।

उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताइन् । उनले भनिन्, प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेको छ । अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुपर्यो ।

कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ । उनले भनिन्,यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ ।

खबर एक्सप्रेस