बलिवुड अभिनेता शाहरुख खानको फिल्म जवानले विश्व बक्स अफिसमा चार दिनमा नै ५ सय करोड भारु कमाई गरेको छ ।
फिल्मले रिलिजको चौथो दिन विश्वभर १५६.८० करोड कमाई गरेसँगै अहिलेसम्म कुल ५३१.२६ करोड भारु कमाई गरेको हो । भारतीय बक्स अफिसमा भने फिल्मले आइतबार मात्र ८० करोड कमाई गरेको थियो ।
जवानले रिलिजको पहिलो दिन विश्वभर १२५.०५ करोड, दोस्रो दिन १०९.२४ करोड र तेस्रो दिन १४०.१७ करोड कमाई गरेको थियो । त्यस्तै घरेलु बक्सअसिफमा हिन्दी भाषामा भने जवानले चार दिनमा २०६.०६ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ, जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि बहुबाली२ र गदर२ ले ५१५ करोड कमाई गरेका छन् ।
फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।