आज:  | Fri, 01, Dec, 2023

कटारीको चन्द्र टाकिज हल कोरोना पछि जिर्ण बन्दै

२०८०, २४ कार्तिक शुक्रबार ११:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) ६३ पाठक संख्या

कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो । करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो ।
पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्चालनमा आउन सकेको छैन । लामो समय कोरोनाका कारण बन्द भएपछि हल सञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताउछन् ।
कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र सञ्चालन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुनःसञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

हल मर्मत गर्न आवश्यक रकमको अभावमा सञ्चालनमा ल्याउन नसकिएको उनि बताउछन् । हल सञ्चालक प्रयास कार्की हलमा लगानी गर्ने सोचमा छन् । पाँच सात लाख रुपैयाँ लगानी गरेर नाफा आउने अवस्था छैन्”, कार्की भन्छन्, “एक्लो प्रयासले लगानी गर्दा अब हलबाट नाफा कमाउन सकिन्दैन ।

कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो । कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछि सञ्चालनमा आउन सकेको छैन । गाईघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ ।शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोनाअघिदेखि नै बन्द छ । बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको सञ्चालक जगदिश साह बताउछन् ।

“लगानी गरेर के गर्ने हिन्दीफिल्म चलाउन महँगो पर्छ, नेपाली फिलिमले लगानी पनि उठाउँदैन”, उदयपुरका कलाकार मिथुन ठाकुर भन्छन्, जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन् । जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुनेहुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

खबर एक्सप्रेस