आज:  | Fri, 26, Apr, 2024

जेड धातुको बुद्ध मूर्ति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण हुदै

२०७८, १४ कार्तिक आईतवार ०९:३० मा प्रकाशित ( २ साल अघि) १४३५४ पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारी आज भैरहवा गएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको जेड धातुको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुमूल्य बुद्ध मूर्ति आज अनावरण हुनेछ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित बुद्ध मूर्ति राष्ट्रपति भण्डारीले आज अनावरण गर्नुहुने छ । राष्ट्रपति भण्डारीले आज दिउँसो साढे १२ बजे मूर्ति अनावरण गर्नुहुने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो।
बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम समेत तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध मूर्तिलाई शनिवार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो ।
यो मुर्ति म्यानमारका भिक्षु कालिगडले ६ महिना लगाएर बनाएका हुन् । वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । एक दशमलव नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ छ । मूर्तिलाई आज स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

खबर एक्सप्रेस